२०७७ कार्तिक ७ गते शुक्रवार

डोल्पामा प्रशस्त पाईने यार्सागुम्बा राताे सुचीमा



डोल्पा २४ साउन
डोल्पाका उच्च हिमाली क्षेत्रमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा संवेदनशील प्रजातिको सुचीमा परेको छ ।
शक्तिवर्धक जडिबुटीको रुपमा चर्चित यार्सागुम्बालाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ(आइयुसिएन)ले संवेदनशील प्रजातिको सूचीमा राखेको हो ।
जुलाई ९ मा रातो सूची जारी गर्दै आइयुसिएनले यार्सालाई संवेदनशीलको सूचीमा राखेको हो ।
“यार्साजस्ता प्रजाति संवेदनशील तिर गएको यो थोरै मध्येको एउटा केस हो,आइयुसिएन फंगल कन्जरभेसन कमिटीका अध्यक्ष प्रोफेसर ग्रेगरी मुइलरले भनेका छन्,“अब यार्साबाट स्थानीयको आर्थिक अवस्था कसरी दिगो बनाउने भन्नेबारेमा सोच्ने दिन आएको छ ।”
बहुमूल्य जडिबुटीमा रुपमा चिनिएको यार्सा हिमाली भेगमा पाइन्छ । विशेषगरी तिब्बत, चीन, नेपाल र भारतमा पाइने यार्सा ढुसी र झुसिल्किरा एकै ठाउँमा जोडिएर रहेको वस्तु हो। यसमा ढुसी र झुसिल्किरा परस्परमा आश्रित हुन्छन् ।यार्सा मानिसकै कारण जोखिममा परेको हो ।

आइयुसिएनले यार्सासँगै १३ हजार ८९९ प्रजातिका जीवलाई ’भल्नरेबल’को सूचीमा राखेको छ ।
विशेष गरी चिनियाँ औषधिहरुमा प्रयोग गरिने यार्साको प्रयोग दुई हजार वर्ष अगाडिबाट शुरु भएको बताइन्छ ।
यौनवर्धक औषधि भनिए पनि यसलाई मिर्गौला र फोक्सोको रोग निको पार्न चिनियाँहरुले प्रयोग गर्ने गरेको आइयुसीएनले जनाएको छ ।
सन् १९९० को दशकबाट यसको अत्याधिक माग बढ्न थालेको हो। १५ वर्षको अवधिमा कम्तीमा पनि ३० प्रतिशतभन्दा बढी यार्सा घटेको आइयुसीएनले जनाएको छ ।
संकलनमा के असर पार्छ ?
विश्वमा १०० भन्दा बढी प्रजाति रहेको उल्लेख गरिए पनि नेपालमा कति प्रजाति पाइन्छ भनेर पत्ता नलागिसकेको यस सम्बन्धी अध्ययनकर्ताहरु बताउँछन् ।

हिमाली भेगका ताप्लेजुङदेखि दार्चुलासम्म पाइने यार्साको खपत बढेकोले मानिसबाटै यार्सा जोखिममा परेको बताउँछन् एक दशक अघि देखि यसैसम्बन्धी अध्ययन गरिरहेका डा. उत्तमबाबु श्रेष्ठ ।
“आइयुसीएनले यसलाई भल्नरेबलमा राखेको हो। यो भनेको संवेदशील वा जोखिमोन्मुख भन्ने हो,’ डा श्रेष्ठले भने,’यो खतराको घण्टी बजेको छ है भनेको हो । यही रुपमा संकलन गरिरहे पछि जोखिम हुन्छ ।’
आइयुसीएनले चेतावनी दिए पनि यसबारे नीति निर्माण गर्ने तहबाट सरकारले योजना बनाउनुपर्ने बताउँछन् उनी । यसका लागि यार्साको उत्पादन बढाउन अध्ययन हुनुपर्ने उनले बताए ।
“यसलाई संरक्षण गर्नुपर्ने हुन्छ ।मान्छेको कारणले नै हो यस्तो भएको ।अब यसलाई व्यवसायिक रुपमा संकलन नगर्ने हो कि भन्ने पनि हुनसक्छ,’ डा श्रेष्ठ भन्छन्, ’तर हामीकहाँ अध्ययनको कमी छ। अध्ययनविना कसरी संरक्षण गर्ने भन्ने कुरा पनि हुँदैन ।अध्ययन गरेर संरक्षणका पाइलाहरु चाल्नुप¥यो ।’
यार्साबाट राज्यले करौडौं राजश्व उठाउँदा यसमाथि अध्ययनमा भने लगानी शून्य बराबर रहेको उनले बताए ।

भने, ’राज्यले करोडौं यार्साबाट राजश्व उठाउँछ। अरबौंको कारोबार हुन्छ । आर्थिक रुपमा जनतालाई सबल पनि बनाइरहेको छ। तर, यसलाई दिगो रुपमा आर्थिक उत्पादनको स्रोत कसरी गर्न सकिन्छ भन्नेबारे राज्यले सोचेको छैन । अध्ययन गरेको छैन ।’
खतराको घण्टी त बजेको छ तर यसलाई कसरी जोगाउने त भन्नेबारेमा पनि अध्ययन हुन नसकेको उनले बताए ।
यार्साको उत्पादन कसरी बढ्छ भन्ने विषयमा समेत अध्ययन आवश्यक देखिएको बताए ।
“संख्या कसरी बढ्छ यसमा पनि अध्ययन गर्नुप¥यो । पुनरोत्पादनका लागि जोड दिनु प¥यो । यसको अध्ययनमा जोड दिनुप¥यो”उनले भने ।
नेपालका अधिकांश ठाउँमा जेठबाट यार्सा संकलन शुरु हुन्छ । यो सिजन राम्रो हो कि हैन त्यो पनि अध्ययन हुन नसकेको डा.श्रेष्ठले बताए ।
यसपटक रोकियो कोरोना महामारीले
सयभन्दा बढी प्रजातिका यार्सा पाइए पनि नेपालमा पाइने यार्सा उपयोगी र बहुमुल्य यार्सा हो ।व्यापारिक हिसाबले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको श्रेष्ठले बताए ।

“ग्लोबल मार्केटमा २ देखि ३ प्रतिशत यार्सा नेपालको जान्छ । यो पनि दोस्रो हो,’ उनले भने।
यसपटक कोरोना महामारीका कारण यार्सा संकलन हुन सकेन । यार्सा संकलन गर्ने सिजनमै कोरोना महामारीका कारण देशभर लकडाउन भएपछि यार्सा संकलन हुन नसकेको हो ।
यार्सा संकलन नहुँदा कतिपयले यार्साले पुनर्जीवन पाउने बताएका छन् ।
यद्यपि एक वर्ष नटिप्दा यसको उत्पादन बढ्छ कि बढ्दैन होला भन्ने विषयमा अध्ययन हुन बाँकी नै रहेको श्रेष्ठले बताए । ’संकलन रोक्दा यसको उत्पादन बढ्छ त? भन्ने कुरा पनि छ । यसको अध्ययन छैन। भएको भए रोक्न सकिन्थ्यो। दुई वर्ष रोक्ने फेरि संकलन गर्ने भन्ने। तर, यसको बारेमा अध्ययन नै छैन उनले भने ।

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार