
रामचन्द्र न्यौपाने/डोल्पा २२ साउन
स्वास्थ्य शिविर सञ्चालनका लागि जगदुल्ला गाउँपालिका पुगेका डा.गोविन्द केसीलाई जनप्रतिनधिले कुनै पनि अवरोध नगरेको गाउँपालिकाले जनाएको छ ।
गत १३ गते वडा नं ६ मा पर्ने रिमि स्वास्थ्य चौकीमा पुगेका डा.केसीलाई सामान्य सोधपुछ गर्न लगाए पनि उहाँले भने जस्तो शिविर गर्न अवरोध गरिएको कुरा असत्य भएको गाउँपालिकाका अध्यक्ष नारसिँह रोकायले बताए ।
“डा.केसी जगदुल्ला पुग्नुभन्दा एक दिन अघिनै काठमाण्डौ जानका लागि म जुफाल विमानस्थल पुगेको थिए,न उहाँसँग भेट नै भएको छ न त टेलिफोन सम्पर्क नै भएको छ,अनावाश्यक विबादमा पार्ने काम गरियो”उनले भने ।
“उहाँ आएको जानकारी पाएपछि वडा नं ६ का अध्यक्ष भक्तबहादुर बुढाथोकीलाई कुन संस्था,कहाँबाट आउनु भएको हो भनेर सोधपुछ गर्न भने लगाएको सत्य हो,उहाँकै हितका लागि समन्वय गरेर सजिलो होला,हामि पनि आवाश्यक सहयोग गरौँला भनिएको हो ,शिविर सञ्चालन गर्न नदिन,आधिकारीक अनुमति लिन भनिएको होइन्”उनले थपे ।
वडा अध्यक्षले आफुलाई भनेको कुरा उदृत गर्दै अध्यक्ष रोकायले डा.केसीलाई प्रदेश,संघ कुन संस्थाबाट आउनु भएको भनेर बुझ्न लगाउँदा आफु कुनै राजनितिक कार्यक्रम गर्न नआएको र स्वतन्त्र नागरिक भएकाले स्वतस्फुर्त व्यक्तिगत रुपमा सेवा गर्न आएको भनेको कुरा खबर गरेको बताए ।
“डा. केसीले यति भनिसके पछि शिविरका बिषयमा कुरै नगरि वडा अध्यक्ष फर्किएका हुन्,उनलाई धपाउन,हटाउन त्यस्तो कुनैपनि निर्देशन भएको होइन्,डा.केसी आफ्नै कारणले फर्किएको हामिले बुझ्यौ”रोकायले भने ।
“स्थानीय सरकालाई यति पनि सोधपुछ गर्ने अधिकार छैन् भने भन्नुप¥यो होइन भने यसरी बिवादमा तान्नु राम्रो होइन,हामि एक बिकट गाउँमा स्वास्थय शिविर सञ्चालन गर्न पुगेका डाक्टरलाई स्वागत गर्नुका साटो अवरोध गर्नै सक्दैनौ”रोकायले थपे ।
डा.केसीकोले राम्रो कामलाई हाम्रो तर्फबाट पनि सँधै साथ समर्थन रहने उनको भनाई छ ।
यता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत केशवराज पाण्डेले घर फर्किने क्रममा छिमेकी जिल्ला जुम्लामा पर्ने चोत्र गाउँ नजिक भेटेको बताए ।
“मैले डा.केसीलाई चिनिसके पछि कहाँ जाने,कता जाने सोधे,उहाँले जगदुल्ला गाउँपालिकामा शिविर सञ्चालन गर्न जाने बताउनुभयो,मैले म त्यताको कार्यकारी हुँ केही सहयोग गर्नुपर्छ कि भनेर पनि सोधे,उनि पैदल हिँडेर एक्लै आएकाले मोटरसाइकलमा छोड्दिनु पर्छ कि भनेर पनि सोधे तर उहाँले कुनै सहयोग आवाश्यक नपर्ने बताउनुभयो,त्यसपछि म आफ्नो बाटो लागे उहाँ पनि अघि बड्नुभयो ।”
गाउँपालिकाले उहाँलाई कुनै पनि हिसाबमा असहयोग नगरेको बताउँदै बदनाम गराउँन मिडियाबाजी गरेर राजनितिक रङ चढाउन खोजिएको जस्तो महशुस भएको पाण्डेले बताए ।
१३ गते गाउँपालिका अन्तर्गत पर्ने रिमि स्वास्थ्य चौकी पुगेका हाडजोर्नी विशेषज्ञ डा.केसी १४ गते का दिन ८० जना बिरामि जाँच गरेर आफुलाई असहज भएको भन्दै पन्ध्र गते बिहानै जुम्ला फर्किएका रिमि स्वास्थ्य चौकीले जनाएको छ ।
जुम्ला फर्किए लगत्तै उनले एक अनलाइन मिडियामा लेख लेखेर संघिय प्रणाली र जगदुल्ला गाउँपालिकाका जनप्रतिनिधिको व्यवहारको बिरोध समेत गरेका थिए ।