२०८० जेष्ठ २६ गते शुक्रवार

तिमी पुरुषबादी भइरहँदा….



तिमि पुरुषवादी
म महिलावादी
तिमी पुरुषत्वको
बखान गाउँछौँ
अनि म महिला
हकहित र सुरक्षाको
विषय उठाउँछु,
तिमी पुरुषवादी भइरहँदा
अन्यायमा परेकी नारीको विषयमा
कहिल्यै सोच्यौ ?
बलात्कारको सिकार भएकी निर्मला
अनि अरु थुप्रै निर्मलाहरुका बारेमा
कहिल्यै सोच्यौ ?
तेजाब आक्रमणमा परेकी मुस्कान
पुजा अनि अरु थुप्रै पुजाहरका बारेमा
कहिल्यै सोच्यौ ?
दाइजोको निहुँमा जिउँदै जल्नुपरेका
हजारौँ दिदीबहिनीका बारेमा
कहिल्यै सोच्यौ ?
अहँ तिम्ले कहिल्यै सोचेनौ
किन कि तिमिलाई
पुरुषत्वको बखान गाएर नै
फुर्सद छैन,
किनकी तिमीलाई आफू
पुरुष भएकोमा घमण्ड छ,
किन कि तिमीलाई पुरुषत्वको
वर्चस्व जमाउनु छ,
आखिर हौ त तिमी
पुरुषवादी,

ए ! साची म चाहिँ
महिलावादि
म महिला हकहितको निम्ति
आवाज उठाउँछु,
चर्कोचर्को स्वरमा
अन्यायमा परेका महिलाको
न्यायको निम्ति म बोल्छु
किनकी
म महिलावादी हुँ,
मसँग खाडिको ४४ डिग्रीको
घाममा पसिना बगाएर
घर फर्कीँदा
खाडिमा बगाएको पसिनाभन्दा
बढी आँशु बगाएका दाजुभाईका
आँशुले मलाई कहिल्यै पिरोल्दैन
किनकी
मेरो लागि महिलाको आँशु मात्र आँशु हो,
मेरा दिदीबहिनीले बैँशको उन्मादले तातिएर
परपुरुषको पानी फेर्ने धोको
पूरा गरिदिएको,
श्रीमानको पसिनालाई अनावश्यक
तडकभडक गरी,
डिस्को, बार अनि क्लवमा गइ
कम्मर भाँच्दै
वाइन र ह्विस्किमा खन्याएको,
यहाँसम्म की श्रीमानको
पसिनाले कोही अरुको घर सजाइदिएको
विषयमा मेरो नजर कैहिल्यै पुग्दैन
मैले भनिसके त
म महिलावादी हुँ
र मलाई महिलाको विषयमा वकालत
गर्दैमा फुर्सद छैन…

तिमी पुरुषवादी भइरहँदा
अन्यायमा परेका महिलाका
विषयमा कहिल्यै गम्भीर भएनौ
बरु महिलामाथि नै दोष खन्याइरहयौ,
अनि म महिलावादी भइरहँदा
अन्यायमा परेका पुरुषको
बारेमा कहिल्यै सोचिन,
गलत नै भएपनी
महिलाकै पक्षमा कुर्लिरहेँ
आखिर तिमी पुरुषवादी जो पर्यौ
अनि म महिलावादी,

अब एकैछिन सोचेर भन त
तिमी पुरुषवादी भइरहँदा
एउटा असल मान्छे भयौ कि भएनौ ?
अनि म महिलावादि भइरहँदा
एउटा असल मान्छे भए कि भइन ?
किनकी
पुरुषवादी वा महिलावादी हुँदैमा
कोही असल मान्छे हुन्छ नै
भन्ने हुन्न
यदि उसले वास्तविक पीडितको
न्यायको पक्षमा बोल्दैन भने
पीडित महिला होस् वा पुरुष
किनकी अन्तमा अर्थ
राख्दछ तिमी मानवतावादी र सत्यवादी
छौ कि छैन भन्ने कुराले
किनकी
मानवता र सत्यताको अर्को कुनै
विकल्प हुन्न ।

प्रकाशित मिति : २०७७ साउन १४ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?