२०८० जेष्ठ १९ गते शुक्रवार

निकुन्ज क्षेत्रभित्र निर्माण थालिएको खेलकुद मैदानमा खटिएका नाैजना कामदारसहित डोजर र ट्याक्टर नियन्त्रणमा



डोल्पा : शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले डोजर र ट्याक्टरसहित नौ जनालाई नियन्त्रणमा लिएको छ। त्रिपुरासुन्दरी नगरपालिका-३ अन्तर्गत पर्ने सुँपानीबाट खेलकुद मैदानका लागि प्रयोग गरिएका निर्माण उपकरणसहित चालक चालकहरूलाई निकुञ्‍जले नियन्त्रणमा लिएको हो।

ठूलीभेरी नदीको किनारमा रहेको सुँपानीमा अनुमति नै नलिई खेलकुद मैदान निर्माण गर्न लागेको थाहा पाएपछि चालकसहित सबैलाई पक्राउ गरिएको निकुञ्जले जानकारी दिएको छ।

‘खेलकुद मैदान निर्माण गर्न लागिएको क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ, वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको अनुमति नै नलिई नीतिनियम विपरीत काम सुरु गरेको थाहा पाएपछि निर्माणमा संलग्न सबै कामदार र उपकरण नियन्त्रणमा लिएका हौं,’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले भने, ‘नदीले कटान गरेको दुवैतिरको भू-भाग निकुञ्ज क्षेत्रमा पर्छ, उक्त क्षेत्रमा अनुमति विपरीत मान्छे डोजर प्रयोग गरेर निजी तथा सार्वजानिक निर्माण सुरु गर्नु कानुन विपरीत मानिन्छ।’

घटनाको विषयमा अनुसन्धान भइरहेको र कसुर देखिएमा कानुन अनुसार कारवाही हुने पौडेलले जानकारी दिए। पक्राउ गरिएका सबैलाई नगर उप-प्रमुख चन्द्राकुमारी बुढाको जिम्मा छोडिएकाले आवश्यक परेको खण्डमा जतिखेर पनि झिकाइने निकुञ्जले जनाएको छ।

गत वर्ष कार्यपालिकाको बैठकबाट ठाउँ छनोट गरेरै काम सुरु गरिएको नगर उपप्रमुख चन्द्राकुमारी बुढाले बताइन। भेरीले कटान गरेको ठाउँसमेत आफ्नो क्षेत्रमा पर्ने निकुञ्जले बताएकाले एक पटक फिल्डमै पुगेर एकीन गर्न लागिएको उनको भनाई छ।

यता प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले खेलकुद मैदान बनाउन लागिएको स्थान आफ्नो क्षेत्रमा पर्ने/नपर्नेबारे निकुञ्जले एकीन गर्नुपर्ने बताएका छन्‌। निकुञ्ज क्षेत्रमा पर्ने भएपनि अनुमति नै नलिई काम गरेको पाइए कारवाही हुनुपर्छ, तर निकुञ्जको क्षेत्र होइन भने अनावश्यक हस्तक्षेप गर्न हुँदैन, सबैले सहजीकरण गरेर विकास निर्माणका काम अघि बढाउनुपर्छ,’ सुनारले भने। निकुञ्ज क्षेत्रमा पर्ने भुगोलबारे आम जनतालाई जानकारी गराउनुपर्ने उनको भनाई छ।उक्त खेलकुद मैदान संघीय सरकार र त्रिपुरासुन्दरी नगरपालिको जन-श्रमदानसहित ८५ लाख रुपैयाँ संयुक्त लगानीमा निर्माण गर्न लागिएको हो।

प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?