२०७८ मङ्सिर १२ गते आइतवार

डोल्पाली महिलामा पाठेघर खस्ने समस्या बिकराल !



डोल्पा २६ असार
हिमाली जिल्ला डोल्पाका अधिकाशं महिलाहरुमा पाठेघर खस्ने समस्या बिकराल देखिएको छ ।
ग्रामिण गाउँबस्तीहरुमा गरिएको महिला प्रजनन् स्वास्थ्य शिविरमा जाँचकालागि आएका अधिकाशं महिलाहरुमा पाठेघर खस्ने समस्या देखिएको हो ।
केहि दिन अघिमात्रै त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत पर्ने त्रिपुराकोट,सुँ, लिकु, पहाडा,खदाङ्गमा गरिएको शिविरबाट चार सय तिरहत्तर जना महिलाले पाठेघरको जाँच गराएका थिए ।
जसमा १ सय ६१ जना महिलामा पाठेघर खस्ने समस्या देखिएको छ ।
नगरपालिकामा मात्र्रै पहिलो चरणको ८४ जना,दोस्रो चरणको ६४ जना,तेस्रो चरणको ९ जना र चौथो चरणको पाठेघर खसेका ४ जना महिला रहेको पाइएको छ ।
पाठेघर खस्ने समस्या भएका ८२ जना महिलाले शिविरमा रिङ्ग पेसरी राखेको बताइएको छ ।
जिल्लाभर २५ प्रतिशत भन्दा धेरै महिलाहरु पाठेघर खस्ने समस्याबाट ग्रसीत भएको महिला शसक्तिकरण डोल्पाले जनाएको छ ।
कलिलो उमेर देखिनै पाठेघर खस्ने समस्याले ग्रसित भएपनि भरपर्दो उपचार नपाउँदा असैह्य पिडा सहेर बस्नु परेको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ रल्लीक ५० बर्षिया काली कुलालले गुनासो गरिन् ।
“भएको एउटा छोरा पनि बित्यो,उपचार गराइदिने कोही पनि छैन,पिडा हुँदा हुँदै पनि घर ब्यवहार आफैले धान्नुपर्छ”कुलालले भक्कानिँदै भनिन् ।
रल्लीकै अर्कि तुलजिता शाही पनि लामोसमय देखि पाठेघर खस्ने समस्याले ग्रस्त छिन् ।
उमेरले ८० बर्ष पुगिसकेकी उनलाई अहिले पनि पाठेघर निस्केर उठ्न बस्नै धौ–धौ हुन्छ ।
“बाबु आमाले सानैमा बिहे गराइदिए,चेतनाको कमिले धेरै बच्चा जन्मे,सुत्केरी हुँदा पनि स्वास्थ्यलाई ख्यालनै नगरेरै घर बन गरियो,त्यसपछि पाठेघरको समस्या सुरु भयो”उनि पनि भक्कानिइन् ।
“रगत चुहिँदै विभिन्न शिविर,नेपालगञ्ज काठमाण्डौ पुगियो तर पनि स्वास्थ्यमा सुधार भएन”उनले थपिन् ।
काली र तुलजिता जस्तै ग्रामिण भेगका महिलाहरु पाठेघर खस्ने समस्याले ग्रस्त छन् ।
रोग लुकायर बस्ने गर्नाले डोल्पाली महिलाहरुको स्वास्थ्य अवस्था भित्रभित्रै खस्किँदै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
शिक्षाको कमि,सानै उमेरमा बिहे गर्ने,धेरै सन्तान जन्माउने,असुरक्षित सुत्केरी गराउने लगायतका कारणले डोल्पाका धेरैजसो महिलाहरुमा पाठेघर खस्ने समस्या देखिएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ शंकरप्रसाद राउतले बताए ।
त्रिपुरासुन्दरी नगरपालिकाकामा मात्रै बिस प्रतिशत महिलाहरु पाठेघर खस्ने समस्याले ग्रस्त भएको उनको भनाई छ ।
नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित शिविरमा सामान्य देखि जटिल प्रकृतिका समस्या भएका महिलाहरुले सेवा लिएको आयोजक संस्था महिला शसक्तिकरण डोल्पाका अध्यक्ष उर्मिला विश्वकर्माले बताइन् ।
रुढिबादी सोचका साथै रोग लुकाउने बानीका कारण ग्रामिण महिलाहरु पाठेघर खस्ने समस्याले ग्रस्तहुने गरेको उनको भनाई छ ।
डोल्पाली महिलाहरुमा पाठेघर खस्ने समस्या चुनौतिका रुपमा खडा भएकाले बेलैमा सोच्नुपर्ने नगर उप–प्रमुख चन्द्राकुमारी बुढाले बताइन् ।
ग्रामिण भेगमा पुरुष भन्दा दोब्बर दुख महिलाई हुन्छ,फेरी पुरुष जनप्रतिनिधिहरु पनि महिलाका समस्या नबुझ्ने रहेछन्,पाठेघर खस्ने समस्याबाट ग्रस्त महिलाहरुका लागि शिविर राख्नकालागि बजेट छुट्याउन टेबुलनै ठोक्नुप¥यो उनले गुनासो गरिन ।
पाठेरघर समस्याले थला परेका महिलाहरुलाई उपचार गराउन नयाँ आवमा छ लाख रकम बिनियोजन गर्न लगाएको उनले बताइन् ।
त्रिपुरासुन्दरी नगरपालिकाले जिल्लाका अन्य स्थानीय तहले पनि निशुल्क पाठेघर जाँचका लागि शिविर आयोजना गर्नुपर्ने सरोकारवालाहरुको भनाई छ ।

प्रकाशित मिति : २०७७ असार २६ गते शुक्रवार