२०८० चैत्र १५ गते बिहिवार

 डोल्पामा लकडाउनको मौका छोपि दोब्बर भाडा असुल्दै जीप ब्यवसायि,१४ किमि सडकमा आठसय भाडा !

सर्वसाधारण मर्कामा


डोल्पा २२ असार
डोल्पामा जीप ब्यवसायिले मनपरी रुपमा भाडा असुल्न थालेकाछन् ।
जिल्लामा आन्तरिक रुपमा सञ्चालनहुँदै आएका जीप ब्यवसायिहरुले सदरमुकाम दुनै आवत–जावत गर्ने सर्वसाधारणबाट लकडाउनको मौका छोपि आफु खुशि भाडा असुल्न थालेकाहुन् ।
त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने सुँपानी देखि सदरमुकाम दुनै सम्म जम्मा १४ किमि मात्रै छ ।तर,जीप भाडा भने सर्वसाधारणको ढाड सेक्ने छ ।
लकडाउनको मौका छोपि जीप ब्यवसायिले चर्को भाडा असुल्न थालेपछि आर्थिक मसान्तमा विकास योजनाको भुक्तानि लिने देखि जिल्ला अस्पतालमा उपचारकालागि आउने सर्वसधारण ठुलो मर्कामा परेकाछन् ।
कोरोना भाइरसका कारण देशको अर्थतन्त्र धरापमा परेर सबै ठाउँमा आर्थिक संकट भएको अवस्थामा दुनै–सुँपानी,सुँपानी– दुनै,दुनै–जुफाल र जुफाल–दुनै सडकखण्डमा जीप ब्यवसायिले नागरिकको ढाड सेक्ने गरि भाडा असुलेको यात्रुहरुको गुनासो छ ।
सिँहदरवार गाउँ–गाउँमा भने पनि धेरैजसो कामकालागि सदरमुकामनै धाउनुपर्ने अवस्था नहटेको सर्वसाधारणहरु बताउँछन् ।
“दुनै आउन जान गरेर भाडामात्रै सोह्र सय तिर्नुपर्ने बाध्यता छ,अरु खाना खाजा सहित जोडेर तीन हजारनै खर्चहुन्छ” त्रिपुरासुन्दरी नगरपालिका १ का भरुन सार्कीले गुनासो गरे ।
तराइका जिल्लाहरुमा १ सय ५० किलोमीटरसम्म यात्रागर्न मिल्ने पैसा डोल्पामा आजभोली १४ किमिमा तिर्नुपर्ने बाध्यता रहेको सार्कीले बताए ।
यता जिल्ला प्रशासन कार्यालय डोल्पाले जीपमा पनि सामाजिक दुरी कायम गर्दै तीनजनासम्म नागरिक बोक्न पाउने ब्यवस्था गरेको छ ।
तर यातायात ब्यवसायिले प्रशासनको नियमलाई उलंघन गर्दै छ जनासम्म यात्रु ओसार्दै आएकाछन् ।
सामान्य अवस्थामा जस्तै छ जनासम्म यात्रु बोकेपनि लकडाउनको कारण देखाउँदै भाडा भने प्रति व्यक्ति आठसय ठटायर लिने गरेको दुनै आउँदै गरेका यात्रु रमेश परियारले गुनासो गरे ।
लकडाउन हुनुभन्दा अगाडिसम्म छ जना मान्छे बोक्न पाउने र भाडादर प्रतिव्यक्ति तीनसय पचास कायम गरिएपनि आजभोली आफुखुशी भाडा उठाउने गरेको उनले बताए ।
“डोल्पाका जीप ब्यवसायिलाई नियम कानुन केही नलाग्ने रहेछ,ट्राफिकले नियमन गर्न खोज्दा पनि उल्टै जाइलाग्ने गरेको देखे” उनले भने ।
मनपरी भाडा असुल्ने जिप ब्यवसायिलाई स्थानीय प्रशासनले नियमन नगर्दा यस्तो समस्या आएको उनको भनाई छ ।
ट्राफिक हैरान
डोल्पाका जिप चालकहरुको गलत ब्यवहारले जीप चालक पनि हैरान भएकाछन् ।
उनिहरुले नियम बिपरीत आफु खुशी जीप सञ्चालन गर्ने र कारवाही गर्न खोज्दै उल्टै जाइलाग्न थालेपछि ट्राफिक प्रहरीलाई नियमन गर्न हम्मे–हम्मे भएको हो ।
“डोल्पामा काम गर्न धेरै गाह्रो छ,नियम अनुसार डोल्पामा गाडि चलाउनै मिल्दैन,फेरी यहाँ रातो प्लेटले पनि धमाधम मान्छे ओसारी रहेकाछन्”ड्युटीमा खटिएका एक ट्राफिकले गुनासो गर्नुभयो ।
“ब्यवाहारिक रुपमा गाडि चल्न दिइएको छ,तर पनि सुरक्षित भएर सरोकारवालाहरुले कायम गरेको भाडा उठाउनु भनेर सम्झाउँदा पनि उल्दै चालकहरु जाइलाग्ने गर्दछन्”उहाँले थप्नुभयो ।
गलत गर्ने चालक र गाडीलाई कारवाही गर्न खोज्दा जनप्रतिनिधिहरुलाई फोन गर्न लगायर दबाव दिने गरेकोे उहाँको भनाई छ ।
यता प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले महंगो गाडि भाडा लिएको बिषयमा छलफल गर्ने बताए ।
कर्मचारीले गर्दा भाडा महंगीयो
डोल्पामा कर्मचारीका कारण गाडि भाडादर महंगीदै गएको सर्वसाधारणले बताएकाछन् ।
कर्मचारीले रिजर्भ गर्दा गाडिवालाले भने अनुसारको मुल्य तिर्न तयारहुने भएकाले उनिहरुका कारणले सर्वसाधारण मर्कामा परेको बताइएको छ ।
सर्वसाधारणले निश्चित भाडामात्रै तिर्न तयारहुने भएकाले गाडिवालाहरु सर्वसाधारण भन्दा कर्मचारी बोक्न तयारहुने नागरिकको गुनासो छ ।
एउटै कर्मचारीले चारदेखि–पाँच हजारसम्म तिरेर रिर्जभ गर्दै आएका यस सडकखण्डमा सञ्चालित जीप ब्यसायिहरु बताउँछन् ।
प्रशासन र स्थानीय सरकार मौन
सर्वसाधारण महंगो भाडाको चरम मारमा परिरहँदा समेत स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयलाई कुनै चासो देखाएका छैनन् ।
नियमनगर्ने जिम्मेवारी प्राप्त स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय डोल्पाले चासो नदिएपछि यातायात ब्यवसायिहरुले पनि मनपरी रुपमा जीप भाडा असुल्न थालेकाहुन् ।
चर्को भाडादरको मारमा सर्वसाधारण पर्दा समेत सडकले जोडिएका त्रिपुरासुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका र स्थानीय प्रशासनले भाडादर नियन्त्रणकालागि भरपर्दो कदम नचालको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।
भाडादरका बिषयमा पटक पटक निर्णय गर्ने गरेतापनि लामोसमय कार्यन्वयन हुन नसकेको उनको भनाई छ ।

प्रकाशित मिति : २०७७ असार २२ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?