
एकाबिहानै उता टेबलमा फोनको घन्टी बजिरहेको थियो। मलाई निन्द्राले छाडे पनि ओछ्यान छाडेर जाने मन भने पट्क्कै थिएन। मंसिर महिनाको चिसो, अझै आज शनिबाार। अफिस छुट्टी हुने हुँदा बिहान ८ नबज्दै नउठ्ने म, धेरै पटकको फोन बजाइले मलाई उठ्न बाध्य बनाई छाड्यो।
सँगै काम गर्ने साथीको फोन रहेछ, मैले फोन उठाउन नपाउदै उताबाट हत्तारीँदै आवाज आयो, ‘हेल्लो मिना, हेर त सिर्जनाले त सुसाइड पो गरिछ।
‘के भन्दैछौँ तिमी हँ?’
यति भनेर म फेरि प्रश्न पूरा सोध्न नपाउँदै फोन उतैबाट कट्यो। हिजो राति काम गर्दा गर्दै भुसुक्कै निदाएछु। एकपल्ट फोन हेरेँ, सिर्जनाले पनि फोन गरेकी रहिछिन्। विश्वाास लागेन मलाई, फेरि उस्को बहिनीलाई फोन गरेर बुझे, साँच्चै रहेछ।
मैले घर छाडेर यता कामको सिलसिलामा आएको पनि वर्षौ भयो। घर छाडेर आएको केही समयमा नै हाम्रो भेटघाट बाक्लिएको थियो। चिनजान भएको छोटो अवधिमै धेरै माया र साथ पाएकी मैले उनीबाट, हामी एउटै पेशामा आवद्ध नभए पनि अधिकांश हाम्रा भोगाइ र हाम्रा पीडाहरु मेल खान्थे। हुन त यहाँ बसुन्जेल अरु साथी भने नबनाएको पक्कै हैन। तर भनिन्छ नि जोसँग हाँसोभन्दा आँसु बिना रोकतोक झर्छ, त्यो व्यक्ति निक्कै खास हुन्छ भनेर। हो, उ त्यस्तै खास थिई।
म घर छाडेर नयाँ ठाउँ, नयाँ परिवेशमा आउँदा नितान्त एक्लै थिएँ। कसैलाई मैले राम्रोसँग चिनेकी पनि थिइन्। योभन्दा अगाडि मैले घर छाडेर एक्लै हिड्ने आँट कहिल्यै गरेकी थिइनँ। तर सधै आँट गरेको छैन भनेर पछि हट्नु पनि त भएन नि है। आफूले आफ्नो लागि केही त गर्नु पर्यो नि, झन् अहिले जागिर खान कति गाह्रो छ। मैले पहिलो पटकमै पाएको मौका कसरी गुमाउन सक्छु र?
घर परिवारबाट पनि केही रोकबार थिएन, योभन्दा अगाडि कहील्यै घर छाडेर बाहिर नगएकी छोरी, कसरी जाली भन्ने चिन्ता सबैका अभिभावकलाई हुन्छ नै। तर पनि त्यो चिन्ताको अगाडि मेरो अडानलाई केही रोकतोक थिएन झन उल्टै सबैको सहयोग भयो।
घर छाडेर आएका ती पल सम्झीदा पनि मन अमिलो भएर आउदा मलाई मन बुझाउनु पर्छ भनेर निक्कै सम्झाउथी र निक्कै हौसला पनि दिन्थी। नयाँ परिवेशमा रुमलिरहँदा एउटा असल साथी र यो बिरानो ठाउँमा अभिभावक जस्तै बनेर भेटिएकी हो उ।
उ दुर्गम गाउँको दलित परिवारमा जन्मिएर हुर्कीए पनि एकदमै साहसी र मिहेनती थिई। कहिले कुनै काममा पनि नडराउने भए पनि कहिले काही निक्कै निराश र मलिन हुन्थी। मैले धेरै पटक कर गर्दा नी घरको समस्या भनेर कुरा टारिदिन्थी। म पनि होला नि भनेर फेरि सोधेर तनाव दिन्न थेँ। किनकी मलाई पनि त अनुभव थियो घरमा कहिलेकाही हुने साना ठूला समस्याले कति मन मलिन हुन्छ भनेर। तर केही दिन पहिले भेटिदा भने उनी निक्कै निराश थिई।
उसले मेरो पटक-पटकको अनुरोधमा भनेकी थिई।
‘हेरन मिना, घरमा मेरो र उसको सम्बन्धको विषयमा थाहा पाएछन्। पहिले-पहिले त सोध्नु र सम्झाउनु मात्रै हुन्थ्यो, बुवाआमाले हिजो आज त खासै बोल्नु पनि हुन्न। कत्ति पटक फोन गर्छु, कहिले राम्रो मुखले जवाफ फर्काउनु हुँदैन, जहिल्यै रिसाउनु मात्रै हुन्छ। अस्ति त अंकलले फोन गरेर अब दायाँबायाँ लाग्ने हैन, यहाँ केटा खोजेका छौँ। केही दिनपछि म आफै लिन आउछु अनि यतै बिहे गर्ने। त्यस्ता केटाको माया प्रेमको पछि नलाग भनेर निक्कै बेर सम्झाउनु भयो’ भनेर निक्कै रुदै थिई।
मैले नसोधेको पनि हैन, यदि तिम्रो माया साँचो छ र उसले तिमीलाई खुशी राख्न र तिमी उसैसँग खुशी हुन्छौँ भने उसलाई भन, भागेर बिहे गर, तनाव नलेउ। पछि मानीहाल्नु हुन्छ नि भनेर। उ प्रत्येक पटकको भेटमा भन्थी, उसको आमा बाहिर देश हुनुहुन्छ र नआउँदासम्म बिहे नगर्ने रे। उ प्रत्येक भेटमा सधै रुन्थी।
मलाई त लाग्थ्यो उस्को आँखामा पानीको र मनमा पीडाको ठूलो पहाड छ जुन यति छिट्टै सकिदैन। उ सधैँ भन्थी, यस्तै गरि दुवै तिरको पेलाइमा पिल्सिए भने त म मर्छु होला यार। मलाइ कहिलेकाही त असाध्यै डर लाग्थ्यो, साँच्चै उस्ले त्यस्तै गरि भने भनेर तर फेरि सोच्थेँ, सबैलाई साहस र आँट हौसला दिने मान्छे कसरी त्यती कायर बन्न सक्ला र?
साँच्चै मैले किताब र कहानी अनि फिल्ममा हेरेको थिएँ, मान्छेलाई पीडाले सिथिल बनाउँछ भनेर तर आज देखेँ पनि। सिर्जनालाई उसको त्यो पीडाले सिथिल मात्र हैन विलिन बनाई दियो, हामी सबैको माझबाट।